• २०८१ चैत्र १ गते शनिवार

बिजुलीको स्वागत, दियालोको बिदाइ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन, २७ गोरखा । चुमनुब्री गाउँपालिका–४ (साविक प्रोक गाविस)का बासिन्दाले परापूर्वकालदेखि बाल्दै आएको दियालोलाई बिदाइ गरेका छन्। स्थानीय दामदक खोलाबाट उत्पादन गरिएको ८० किलोवाट बिजुली घर–घरमा बाल्न थालेपछि गाउँलेले धुमधाम नाचेर खुसी मनाएका हुन्।

कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खा नामक गैरसरकारी संस्थाले प्रोक जलविद्युत् आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि गाउँलेहरू धुमधामले नाचेर खुसियाली मनाएको वडाअध्यक्ष पेमाडुण्डुप लामाले बताए।
‘घर–घरमा बिजुली बाल्न पाएपछि गाउँलेहरू बिहान आठबजेदेखि राती तीनबजेसम्म स्याप्रु नाचेको नाच्यै गरेर रमाइलो गरे’, लामाले भने, ‘यसअघि सल्लाको दियालो बाल्ने गर्थे। अहिले घरमा बल्ब झुण्डिएपछि बल्बलाई ढोगेर रमाइलो गरे।’

अब दियालोलाई बिदाइ गरी सहरबजारमा जस्तै बिजुली बत्ती बाल्न पाउँदा गाउँलेको खुसीको सीमा रहेन। ‘घरभित्र बिजुली बत्ती बलेको देख्दा असाध्यै खुसी लागेर बलिरहेको बत्ती समाउँ–समाउँ लाग्छ, फेरि छुन डर लाग्छ’, स्थानीय टासीछिकी लामाले भनिन्, ‘अब त हाम्रो गाउँघर पनि सहर बजारजस्तै उज्यालो देखियो।’ दाताले दिएको तर चलाउन नपाएको कुटानी, पिसानी मिल पनि अब चलाउन पाइने उनले बताइन्।

सो आयोजनाबाट उत्पादित बत्ती प्रोक, गप, क्वाक, छाक, बुर, बन्द्रुङका करिब ३ सय १४ घरमा बल्ने कादुरी संस्थाले जनाएको छ। छवटा टोलका एकहजार ३ सय ३३ जना विद्युत् सेवाबाट प्रभावित हुने कादुरीको भनाइ छ।

गत मंसिर ८ ठगतेबाट निर्माण आरम्भ भएको आयोजना आठ महिनामा गत साउन २३ गते निर्माण सम्पन्न भएको हो। ७ करोड ७६ लाख ५६ हजार रुपैयाँमा निर्माण सम्पन्न आयोजना गत आइतबार उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ।
कादुरीका सिनियर प्रोजेक्ट मेनेजर मिश्र चौधरीले वडा अध्यक्ष तथा उपभोक्ता समितिका अध्यक्ष पेमाडुण्डुप लामालाई आयोजना हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस