साउन, २७ काठमाडौं । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टीबाट मन्त्री बनेका उनले मंगलबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन्।
उनले सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर राजीनामा दिएको उल्लेख गरेका छन्।
मंगलबार जसपाको संसदीय दलको बैठकले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको र सोही निर्णयअनुसार राजीनामा दिएको उनले बताएका छन्।
जसपाबाट मन्त्री बनेका विजयबहादुर यादव र कल्पना पाण्डेले भने राजीनामा दिएका छैनन्। गत वैशाख ६ गते पोखरेल नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बनेका तीनै जनालाई जसपाले कारबाही गर्दै सांसद पदबाट हटाउन प्रदेशसभा सचिवालयलाई सिफारिस गरेको थियो। सोहीबमोजिम प्रदेससभा सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो।
त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालतमा पुगेका थिए। तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेका कारण तीनै जनाको सांसद पद गुमिसकेको छ।