• २०८१ जेष्ठ ३१ गते बिहिवार

निर्वाचन आयोगलाई छैन हतार

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

जेठ २८, काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी साउनदेखि मात्रै अगाडि बढाउने भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको र निर्वाचन तयारीका लागि समेत पर्याप्त समय रहेकाले आयोग यस्तो निष्कर्षमा पुगेको हो ।

यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भई वैशाख १७ र २७ गते तोकिएको निर्वाचनका लागि भने आयोगले तत्कालै तयारीको काम अघि बढाएको थियो । आयोग स्रोतका अनुसार संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइकै क्रममा रहेको र निर्वाचनका लागि ५ महिना बाँकी रहेकाले तयारीको काम तीव्र नबनाइएको हो । ‘सरकारले निर्वाचन घोषणा गरेपछि त्यसको तयारी गर्नु आयोगको संवैधानिक दायित्व हो, त्यसमा हामी प्रतिबद्ध पनि छौं,’ एक आयुक्तले भने, ‘तर अहिले पाँच महिनाभन्दा बढी समय छ । मुद्दा सर्वोच्च अदालतमा सुनुवाइकै क्रममा छ ।

अदालतबाट निर्णय आयो भने हामीलाई सोही अनुसार अघि बढ्न झनै सहज हुन्छ ।’ उनले यसअघि पहिलो पटक प्रतिनिधिसभा विघटन गरी गत वैशाख १७ र २७ मा तोकिएको निर्वाचनको तयारीका लागि गरिएको मतदाता नामावली संकलन, मतदान केन्द्र अद्यावधिकलगायतका थुप्रै काम आगामी निर्वाचनमा पनि काम लाग्ने भएकाले आयोगलाई तयारीको चाप नरहेको बताए ।

‘संसद् पुनस्र्थापना भएको खण्डमा केही गर्नुपरेन, नभएमा अघिल्लोपटकको तयारी पनि काम लाग्छ, हामीसँग पर्याप्त समय पनि छ,’ उनले भने, ‘आयोगले साउन पहिलो सातादेखि निर्वाचन तयारीलाई तीव्रता दिन्छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन घोषणा भए पनि निर्वाचन अवधि सुरु भइनसकेकाले हतार गर्नुपर्ने स्थिति नरहेको बताए । निर्वाचन तयारीका लागि आयोगलाई आवश्यक पर्ने १ सय २० दिन हो, श्रेष्ठले नागरिकसँग भने, ‘आयोगसँग पर्याप्त समय छ, सामान्य तयारीको काम अहिले पनि भइरहेका छन् । निर्वाचनको मितिभन्दा १ सय २० दिनअघिदेखि तयारीले तीव्रता पाउँछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी नपुगेको निर्णय गरेपछि जेठ ७ मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचनको घोषणा गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचनको मिति घोषणा गरेकी हुन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस