फागुन २७, मुगु । बाँकेको कोहलपुरस्थित पिपलचोकमा ट्रकले ठक्कर दिँदा कांग्रेस नेता जयकर्ण मल्लको मुत्यु भएको छ । बुधबार (हिजो) राति कोहलपुरको पिपलचोकमा जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा भे१क ११०० नम्बरको ट्रकले ठक्कर दिँदा मुगुको सोरु गाँयपालिका–११ धैनकोटका ३७ वर्षीय जयकर्ण मल्लको घटनास्थलमै मृत्यु भएको हो ।
कांग्रेस जिल्ला कार्यसमिति मुगुका पार्टी सभापति खड्गबहादुर शाहीका अनुसार मल्ल आफ्नो आफन्तको उपचारका लागि नेपालगञ्ज झरेका थिए । उनका अनुसार मल्ललाई ठक्कर दिने चालक र ट्रक नेपाल प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पार्टी सभापति शाहीले जानकारी गराए । लामो समयदेखि नेपाली कांग्रेसको नियम निर्देशन तथा अनुशासनभित्र रहेर क्रियाशील रहेका मल्ललाई नेपाली कांग्रेस मुगु जिल्ला कार्यसमितिले एक वर्षअघि मात्रै सोरु गाउँपालिकाको सभापति चयन गरी गाँउपालिको जिम्मा दिइएको थियो ।
विहीबार बिहान नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर ट्रक चालकलाई कडा भन्दा कडा कानूनी कारबाहीसहित क्षतिपूर्ति माग गर्ने निर्णय गरिएको छ । १३ दिनसम्म जिल्ला, गाँउपालिकाको पार्टी कार्यालयको झन्डा आधा झुकाइने पनि निर्णय गरिएको नेपाली कांग्रेस मुगुका पूर्व शिक्षा तथा राज्यमन्त्री हस्त बहादुर मल्लले जानकारी गराए ।