• २०८१ मङ्सिर २४ गते सोमवार

सिन्धुली सदरमुकाममा निषेधाज्ञा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, काठमाडौं । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त गरेको दिनको सम्झनामा सिन्धुलीगढि विजयोत्सव मनाउने कार्यक्रममा पूर्व रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई विजयोत्सव कार्यक्रमको प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द काफ्लेले जानकारी दिए।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो। कार्यक्रममा सहभागी हुन पोखरेलले मंगलबार नै सिन्धुलीगढि पुगेका थिए।

तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाए। गठबन्धनका दलका कार्यकर्ताहरूले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए।

सहमतिको लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा पनि सहमती जुट्न सकेको थिएन। त्यसपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस