भदौ २५, काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।
नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाली कांग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका हुन् ।
यस्तै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटका पनि आजैसुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफैंले सुनुवाई गर्नेगरी सो रिटको पेशी तोकिएको छ ।
यही भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गर्नुभएको थियो । मन्त्रिपरिषद्ले २०७७ माघ २६ मा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७८ साउन २५ मा उनलाई त्यहाँबाट हटाएर जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्यमा नियुक्त गरिएको थियो ।
त्यस्तै साउन २५ मा घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाँउ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।