बैशाख २७,काठमाडौँ। बजार परिसूचक नेप्से सोमबार २७.४१ अंकले बढेर २६४५.८६ अंकमा बन्द भएको छ । सोमबार प्रि ओपन सेसनमा ५ अंकभन्दा माथिले घटेर २६१३.१८ अंकमा खुलेको थियो । बजार खुलेको केही मिनेट ओरालो लागे पनि लगत्तै उकालो लागेको बजार अन्ततः १ प्रतिशतभन्दा माथिले बढेर बन्द भएको छ ।
बजार परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज कारोबार रकम ४ अर्ब २० करोडमा सीमित भएको छ । आज नेप्सेमा ७५ लाख ७९ हजार ३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ३८ लाख ३३ हजारको कारोबार भएको छ । सबै उपसूचकमा हरियाली छाउँदा सोमबार अन्य, उत्पादन र निर्जीवन बिमा उपसूचकले लिड गरेको छ । अन्य उपसूचक सर्वाधिक ३.९३ प्रतिशत, निर्जीवन बिमा २.६४ प्रतिशत र उत्पादन उपसूचक २.३७ प्रतिशतले बढेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने ०.२ प्रतिशतले मात्रै बढेको छ ।
आज नेप्सेमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गर्दा अपर तामाकोसीले पछ्याएको छ । नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक २७ करोड ४ लाख २८ हजार कारोबार हुँदा अपर तामाकोसीको १९ करोड ६७ लाख ६८ हजारको कारोबार भएको छ । आज नेप्सेमा राष्ट्रिय बिमा कम्पनीको साधारण र सस्थापक दुवै सेयरमा सकारात्मक सर्किट लाग्दा समता घरेलु लघुवित्त र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
यता, विशालबजार कम्पनीको सेयर मूल्यमा आज पनि नकारात्मक सर्किट लाग्दा जोशी हाड्रोपावरको सेयर मूल्य ४.१२ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका १३५ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको घटेको छ । यस्तै, २२ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।