फागुन २६, काठमाडौँ। चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् ।
पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रिने गरेका हुन् । कोरोना तथा चिनियाँ पक्षको अवरोधका कारण धेरै समय नाका बन्द भएका थिए । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक सात कन्टेनर सामग्री आयात हुँदै आएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो । तातोपानी नाकाबाट पछिल्लो समय रासायनिक मल आयात भएको भन्सार कार्यालयले जनाएको छ । ल्होसारपछि नाका पुनः सञ्चालनमा आएयता दैनिक सात चिनियाँ कन्टेनर नेपाल भित्रिने गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सात कन्टेनरमध्ये पाँच कन्टेनरमा रासायनिक मल आयात भएको छ ।
लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आए पनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।
रसुवागढी र तातोपानी नाकाबाट न्यून मात्रामा आयात हुँदै आए पनि निर्यात भने ठप्प छ । रसुवागढी नाकाबाट गत वर्षको चिनियाँ ल्होसारदेखि नै निर्यात बन्द भए पनि हालसम्म पुनः सञ्चालन हुनसकेको छैन । चिनियाँ सामग्री आयातमा अवरोध गर्दै आएको चिनियाँ पक्षले निर्यातमा कुनै पहल नगरेको रसुवागढी भन्सार प्रमुख रेग्मी बताउनुहुन्छ ।रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात बन्द भए पनि भूकम्पपछि तातोपानी नाकाबाट निर्यात ठप्प छ ।