फागुन २६, बैतडी। किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो ।
दिनेशलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो । अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो ।
दिनेशलाई बुधबार डोटीमा रहेको सुधारगृह पठाउने तयारी रहेको गरिएको छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।
प्रहरीले घटनाको अनुसन्धानपछि दिनेशलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५-५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । दिनेशले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् । भागरथीको भेजाइनल स्वाब र दिनेशको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको भए पनि रिपोर्ट आएको छैन ।