फागुन २६, काठमाडौँ। संसदको दोस्रो बैठक बुधबार बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।
संसद सचिवालयका अनुसार सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु बुधबारको बैठकमा पनि पेस हुने छ । सोमबारको बैठकमा विपक्षी दलहरुको विरोधका बाबजुद संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । सो विधेयक संविधानसँग बाझिएको भन्दै संसदबाट पारित गर्न नदिने रणनीति विपक्षी दलहरुले बनाएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका सांसदहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै यसअघि नै विरोधको सूचना दर्ता गराएका छन् । यसअघि २३ फागुनमा बसेको संसद बैठकमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश पेस गर्दा कांग्रेस र समाजवादी दलका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि सभामुख अग्नि सापकोटाले २६ फागुनसम्मका लागि बैठक स्थगित गरेका थिए । बुधबारको बैठकमा पनि बिभिन्न विधेयकहरु पेस गर्ने र दिवंगत सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।
संसद सचिवालयले अघिल्लो दिन नै सार्वजनिक गरेको कार्यसूचीमा लेखिएअनुसार गृहमन्त्री रामबहादुर थापा ९बादल०ले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश पेस गर्ने तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन अध्यादेश २०७७ पेस गर्ने कार्यसूची छ ।