माघ २८, बाग्लुङ। कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको विद्युत्लाई केन्द्रिकृत गर्ने जनाएको छ ।
दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारण लाइन निर्माण भएर केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि विद्युत् क्षेत्रमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । पर्वत जिल्ला र म्याग्दी जिल्लामा प्रसारण लाइन तथा सबस्टेशन निर्माण भए पनि बागलुङले समेत यसको प्रत्यक्ष लाभ लिन सक्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मे ३० मा दाना–खुर्कोट प्रसारण लाइन आयोजना निर्माण शुरु गरेकोे थियो । खोला नदीबाट विद्युत् उत्पादन गरेर मात्रै हुँदैन । उत्पादित विद्युत्को यथेष्ट प्रयोग माग र आपूर्तिका आधारमा सम्बन्धित क्षेत्रमा पुर्याउन जरुरी हुन्छ । दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माणपछि धौलागिरिको उद्योग व्यवसायमा समेत सकारात्मक टेवा पुग्ने आशा गरिएको छ । हालसम्म औद्योगिक ग्राम तथा ठूला उद्योगहरु साविक धौलागिरिका चार जिल्लामा छैनन् । अब ठूला उद्योगहरु सञ्चालनमा समेत यसले प्रोत्साहित गर्नेछ । उक्त प्रसारण लाइनले धौलागिरिमा मोदी खोला हुँदै विद्युत् भित्र्याउँदै आएकोमा यसलाई प्रतिस्थापन गरी धौलागिरिको विद्युत् बाहिर पठाउँदै जाने विद्युत् प्राधिकरणले जनाएको छ ।
दाना सबस्टेशनबाट मुस्ताङ जिल्लाको फिडर जोडिएका कारण अब मुस्ताङ जिल्लामा विद्युत्मा समस्या हुँदा बागलुङमा कुनै अवरोध नआउने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशालीले जानकारी दिनुभयो । अहिले मुस्ताङमा उत्पादन भएको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको १३.४ र म्याग्दीको घलेम्दी जलविद्युत आयोजनाको पाँच मेगावाट विद्युत् करिडोर प्रसारण लाइनले छोएको दाना सब–स्टेशनबाट जोडिएको छ । केन्द्रीय प्रसारण लाइनमा दाना नपुग्दासम्म मुस्ताङको थापाखोला जलविद्युत् आयोजना आधा क्षमतामा मात्रै चल्दै आएको थियो । अहिले केन्द्रीय प्रसारण लाइनमा जोडिँदा पूरा क्षमतामा आयोजना चल्न शुरु गरेको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा उत्पादन भएको विद्युत् खुर्कोट सबस्टेशनमार्फत वितरण हुनेछ ।
अहिले बागलुङमा मोदी सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको थियो, जुन निर्विकल्प थियो तर नयाँ प्रसारण लाइन तथा खुर्कोट सबस्टेशन बनेपछि बागलुङमा छुट्टै फिडर निकाल्न सकिनेछ । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएपछि बागलुङमा छुट्टै फिडर ल्याउने विकल्प तयार भएको छ ।
अन्य जिल्लामा समस्या आउँदा बागलुङमा विद्युत् जाने समस्या छ । झण्डै रु २५ करोड खर्चेर खुर्कोट सबस्टेशनदेखि ५०० मिटरको दूरीमा रहेको बागलुङ आउने प्रसारण लाइनमा जोड्न सके अनियमित विद्युत् हटेर जाने गोशालीको भनाई छ । “करिब रु २५ करोड लाग्ला, खुर्कोट सबस्टेशन नजिकै १३२र३३ केभीमा १० देखि २० एमभिए ट्रान्सफर्मर राखेर सिधै बागलुङ जोड्न सकिन्छ भने म्याग्दी पनि त्यसैगरी जोड्न सके धौलागिरिका चार जिल्लाकै अनियमित विद्युत् कटौतीको समस्या हटेर जानेछ” गोशलीले भन्नुभयो “धौलागिरिमा विद्युत् क्षेत्रका लागि नयाँ प्रसारण लाइन तथा सबस्टेशन कोसेढुङ्गा सावित हुनेछ ।”
यस्तै कुश्मिशेरा सबस्टेशन निर्माणको क्रममा रहेकाले त्यसलाई पर्वत जिल्लाबाट जोड्न सकिनेछ । यसबाट ठेउलेखोला जलविद्युत् आयोजनासमेत सबस्टेशनमा जोड्न सहज हुनेछ । बिद्युत् नियमित भए २५ प्रतिशत व्यवसाय बढ्ने होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका संयोजक तथा पर्यटन व्यवसायी अर्जुन चोखालको भनाइ छ । “निकै फाइदा हुन्छ, इन्भर्टर बिग्रेको बिग्रेकै हुन्छ, एसी मर्मत गर्न निकै खर्च लाग्छ” चोखालले भन्नुभयो “नियमित विद्युत् आपूर्तिले हरेक व्यवसायलाई फाइदा पुर्याउँछ ।