कात्तिक २३, बाग्लुङ । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैंची बेचेर २२ लाख ६ हजार ५०० रूपैयाँ भित्र्याए। नमुना अलैंची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैंची फलाएका थिए।
अलैंचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी पाँच लाख रूपैयाँ कमाए। त्यसपछि विमल पौडेलले तीन लाख। विमल पौडेल समूहको अध्यक्षसमेत हुन्। अलैंचीले भाउ राम्रो पाएपछि किसानको कमाइ बढेको हो।
अघिल्लो वर्ष प्रतिकिलो ६०० रूपैयाँमा बेचेका किसानले यो वर्ष एक हजार १५० रूपैयाँसम्म मूल्य पाएका हुन्। झण्डै दोब्बरले भाउ बढेपछि अलैंची किसान मक्ख छन्। बजारमा अलैंचीको माग बढेका कारण मूल्य बढेको किसान बताउँछन्।
‘गत वर्ष कम मूल्यमा अलैंची बेच्नुपर्दा किसान निराश हुनुपरेको थियो,’ समूहका अध्यक्ष पौडेलले भने‚ ‘अहिले भनेझैँ मूल्य पाएपछि किसान खुसी छन्।’ उनले गुणस्तरीय उत्पादन दिन सके अलैंचीको बजार राम्रो रहेको बताए।
समूहले २०० रोपनी जग्गामा ६ वर्षदेखि अलैंचीको व्यावसायिक खेती गर्दै आएको छ। अलैंची बेचेर वार्षिक आउने आम्दानीलाई किसानले आफ्नो उत्पादन अनुसार बाँडेर लिन्छन्। समूहमा नरहेका किसानबाट पनि अलैंची सङ्कलन गरेर बजारसम्म पुर्याउन समूहले सहजीकरण गर्दै आएको छ।
बरेङमै सबैभन्दा धेरै क्षेत्रफलमा अलैंची खेती गरेको उक्त समूहमा १९ जना किसान आबद्ध छन्। बसाइँसराइले गाउँका जग्गा बाँझो हुन थालेपछि गाउँले मिलेर अलैंची खेतीको योजना बनाएका थिए। समूहलाई अलैंची सुकाउने उपकरण खरिद, बगान विस्तारलगायतमा कृषि ज्ञान केन्द्र र गाउँपालिकाले अनुदान सहयोग दिएको छ।
अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य केदार आचार्यले यो वर्ष उत्पादनमा ह्रास आएकाले अलैंचीको बजार मूल्य बढेको बताए। अलैंची निर्यात हुने प्रमुख देश भारतका व्यापारीले पनि बढी मूल्य तिरेरै भए पनि नेपालको अलैंची खरिद गर्न तयार भएको उनको भनाइ छ।
‘खडेरी, सिँदुरे रोग आदि कारणले यो वर्ष देशभर अलैंचीको उत्पादनमा गिरावट आयो,’ आचार्यले भने�‚ ‘जसले गर्दा बजार माग बढी छ, किसानले राम्रै मूल्य पाउनुभएको छ।’ उनले जैमिनी नगरपालिका–१० राङखानीको २० रोपनी क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन्। त्यहाँ अलैंचीको नर्सरी पनि छ।
राङखानीको आचार्य जैविक नमूना कृषि फार्मले गाउँभरिका किसानबाट अलैंची खरिद गरेर बजारीकरण गर्दै आएको छ। यो वर्ष ५० क्विन्टल अलैंची काठमाडौँ पुर्याएको फार्मका सञ्चालकसमेत रहेका आचार्यले बताए। काठमाडौँ हुँदै अलैंची भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ।
कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पुर्याएर भारतीय व्यापारीलाई अलैंची बेच्छन्। भारतीय बजारमा पुग्ने नेपाली अलैंची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ।
कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढेको र निर्यात पनि सहज भएका कारण नेपाली अलैंचीले मूल्य पाएको बताए। ‘भारतमा यो वर्ष अलैंची उत्पादन घटेको हुनाले पनि हाम्रो अलैंचीको माग बढेको हो,’ उनले भने, ‘गत वर्ष किसानले अलैंची बेच्न व्यापारी खोज्दै हिँड्नुपर्ने अवस्था थियो, अहिले व्यापारीहरु किसान खोज्दै हिँडेका छन्।’
उनले अलैंचीका ठूला व्यापारीले एक वर्ष मूल्य बढाउने र अर्को वर्ष फेरि घटाउने प्रवृत्ति बजारमा देखा पर्ने गरेको उल्लेख गरे। ‘राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्,ֹ’ उनले भने‚ ‘व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ।’
यो वर्ष माग र मूल्य बढेकाले अलैंची किसानलाई व्यावसायिकरूपमा फाइदा पुगेको प्रमुख भट्टराईले बताए। उनका अनुसार जिल्लामा अहिले एक हजार २०० हेक्टरमा अलैंची खेती भइरहेको छ। पछिल्लो पाँच/छ वर्षयता अलैंची खेती विस्तार भइरहेको हो। राम्रो कमाइ हुने देखेर किसान अलैंची खेतीतिर आकर्षित छन्।
सरकारी अनुदान सहायताले पनि किसानलाई अलैंची खेतीमा लाग्न प्रोत्साहित गरिरहेको छ। बर्सेनि साउन अन्तिमदेखि असोजसम्मै किसानलाई अलैंची टिप्ने चटारो पर्छ। अलैंची खेतीमा लाग्ने मेहनत र श्रमअनुसार सधैँ राम्रो मूल्य पाउने वातावरण बन्नुपर्ने किसानको माग छ। बजारको उचित व्यवस्थापनमा राज्य संयन्त्रले चासो नदिएको उनीहरुको गुनासो छ।
रोप्नदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको धेरै समय, श्रम र लगानी अलैंची खेतीमा खर्च हुन्छ। बजारको अनिश्चिततासँगै लगानीअनुसारको प्रतिफल नपाए अलैंची खेतीबाट किसान पलायन हुने स्थिति छ।
केन्द्रका अनुसार यहाँ अलैंचीको व्यावसायिक उत्पादनका लागि ११ पकेट र दुई ब्लक क्षेत्र घोषणा गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत किसानले अलैंची खेतीमा अनुदान र तालिम पाउँछन्।
ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा अलैंची ब्लक छ। जैमिनी, बागलुङ नगरपालिका, काठेखोला, निसीखोला, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा पकेट कार्यक्रम सञ्चालित छ।