जेठ २५, काठमाडौं । नार्गजुन नगरपालिका वडा नं. २ मा कोरोना भाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु भएको छ । नार्गजुन नगरपालिका वडा नं. २ मा रहेको नाङ्गेल स्कुलमा रहेको खोप केन्द्रमा बिहाज १० बजेबाट खोप अभियान सुरु भएको हो ।
खोप अभियानमा बाग्मती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठ, नार्गजुन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा प्रवक्ता थुमराज के.सी, वडा नं. ३ का वडा अध्यक्ष प्रेमलाल श्रेष्ठ, वडा नं. १ का वडा सदस्य जुजुन लामा लगायतको उपस्थिती रहेको थियो । खोप अभियानमा बाग्मती प्रदेशसभा सदस्य श्रेष्ठ खोप लगाउन आउने सबैलाई सामाजिक दुरी कायम गर्न अनुरोध गर्दै सबैलाई सुरक्षित खोप लगाउन अनुरोध गर्नुभयो ।
सरकारले जेठ २५ गतेदेखि देशभर कोरोनाभाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गरेको हो । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको खोप अभियान देशभर जेठ २९ गतेसम्म सञ्चालन हुनेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो ।
यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो । चीनमा उत्पादन गरिएको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले १९ वर्षमाथिका जुन उमेर समूहले लगाउन मिल्ने जानकारी दिएपछि नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो ।