• २०८२ जेष्ठ २ गते बिहिवार

महोत्तरीमा पन्ध्र दिनदेखि दम्पती बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, महोत्तरी। ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकोमा अहिलेसम्म उनीहरुको कुनै अत्तोपत्तो लागेको छैन ।

घरमा दुई बूढाबूढी मात्रै सुतिरहेको अवस्थामा उनलाई बेपत्ता पारिएको हो भने उनको घरको ओछयान र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले यही फागुन ११ गते बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको छ । घटनाको १५ दिन भइसक्दा पनि वृद्ध दम्पती नभेटेपछि घटना झन्झन् जटिल बन्दै गइरहेको बताइएको छ ।

प्रहरीले उनको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषाका समेत विभिन्न स्थानमा व्यापकरुपमा खोजतलास गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस