असार २३,काठमाडौँ। कोभिड–१९ विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइने भएको छ । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ कोभाक्स सुविधाअन्तर्गत अनुदानमा नेपालले पाउन लागेको हो ।
जोन्सनको ‘जेन्सेन एडी २६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए० ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
‘एक मात्रा मात्र चाहिने जेन्सेन खोप नेपाललाई दिने कुरा कन्फर्म भयो,’ स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोख्रेलले कान्तिपुरसँग भने, ‘कति मात्रा र कहिलेसम्ममा दिने भन्ने कुरा एक सातापछि थाहा हुन्छ ।’ कोभाक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदान सहयोगअन्तर्गत पाउनेछ । ‘यो खोप अमेरिकी सरकारले कोभाक्सलाई दिने र कोभाक्सको कोटाअन्तर्गत हामीकहाँ आउने हो,’ उनले भने ।
जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन । अतुल मिश्रले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।