बैशाख २३, मोरङ । मोरङमा आफन्तको बिहेमा जान भनेर काम गर्ने कृषि फार्मबाट हिँडेकी एक महिलाको हत्या भएको छ। हत्या गरेर फ्यालेको अवस्थामा मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीया सरिता सोरेनको शव फेला परेको हो।
रतुवामाई नगरपालिका–६ स्थित मकैबारीमा मृत फेला परेकी उनको ढिलो गरेर पहिचान खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार गत आइतबार टाउको, घाँटी, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको अर्धनग्न अवस्थामा सरीताको शव फेला परेको थियो।
बुवा धनुष सोरेनले छोरीको सनाखत गर्दै शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्। पहिचान हुन नसकेको शवलाई विराटनगरस्थित कोसी अस्पतालको शवगृहमा ल्याएर राखिएको थियो। बुवाले सनाखत गरेपछि पोस्टमार्टम गरेर शव परिवारका सदस्यको जिम्मा लगाइएको डीएसपी राईले बताए। उनका अनुसार मृतकको शरीरका विभिन्न भागमा गहिरो चोट रहेका कारण हत्या गरेर फ्यालेको आशंकामा गम्भीर रूपले घटनाको अनुसन्धान अघि बढाइएको छ।