• २०८१ भाद्र २५ गते मङ्गलवार

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच खटपटः गठबन्धनमा तरंग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खटपट शुरु भएको छ । बिहीबार बेलायत भ्रमणबाट फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको दाबी गर्नु भएपछि गठबन्धनका बिचमा तरंग पैदा भएको हो । एमसिसि राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर चिठ्ठी पठाएको उहाँको दाबी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्छौं भनेर चिठ्ठी लेखेको प्रधानमन्त्रीको दाबीको खण्डन गर्नुभएको छ । एमसीसी सम्झौता गर्दा संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नभएको, तर त्यो थप्दा समस्या भएको उहाँले बताउनुभयो । देउसी खेल्न आफ्नो निवासमा आएका सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री देउवा स्वयंले त्यस्तो भनेको त होइन भनि संका गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन । हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ ? भनेर उपाय निकाल्छौं भनेर लेखेको चिठ्ठी हो । हामी पास गर्छौं भनेर लेखेको होइन । पहिला सुरुमा सहमति हुँदा एमसीसी सम्झौता संसदमा लैजानुपर्ने, अनुमोदन गर्नुपर्ने केही थिएन । अमेरिकाले पैसा दिने, नेपालले दिने र विकास गर्ने भन्ने मात्र थियो । त्यतिबेला हामी पनि सरकारमा थियौं, शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो ।

त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा संसदमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरामा थिएन,’ उनले भने, ‘पछि त्यसमा त्यो थपियो । त्यसो हुँदा यसको पछाडि के हो त रहस्य भन्ने प्रश्न खडा भयो । र विवाद बन्न आयो ।’

प्रतिक्रिया दिनुहोस