कात्तिक १९, बाँके । बाँके-कोहलपुर सडक खण्डको कोहलपुर बाबानगर नजिकै एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट शनिबार राती एक युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
लायन्स क्लब अफ नेपालगञ्जको भे १ च ५८६ नम्बरको एम्बुलेन्सले युवकलाई ठक्कर दिएपछि भागेको थियो । सडकमा घाइते फेला परेको खबर पाएलगत्तै पुगेको स्थानीय प्रहरीले अहिलेसम्म नाम ठेगाना नखुलेका पुरुषलाई उद्दार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाएको थियो ।
उपचारकै क्रममा करिब साढे ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । आफै ठक्कर दिएर घाइते बनाएको व्यक्तिलाई उपचारको लागि अस्पताल लैजानुको साटो भाग्ने एम्बुलेन्स र चालकलाई प्रहरीले राती १२ बजे नेपालगञ्जमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको छ ।