• २०८१ असोज २५ गते शुक्रवार

लुम्बिनी प्रदेशको विशेष अधिवेशन २७ साउनमा आह्‍वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २० काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन्। उनले साउन २७ गते बुधबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरिएको हो।

लुम्बिनी प्रदेशमा विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालिसकेका छन्। बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए।

विपक्षी दलहरुले ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाइसकेका थिए। सोमबार नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुखलाई भेटेर संयुक्त निवेदन दिएका थिए।

प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीसहितले निवेदन बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस