फागुन २१, ईलाम । माङसेबुङ गाउँपालिका-६ नन्वेटारस्थित सडक निर्माणको लागि पबित्रा निर्माण कम्पनी प्रालि रौतहटले राखेको डिजल, पाईप लगायतका सामानमा आगजनी गरेको अभियोगमा सोही कम्पनीमा काम गर्ने कालिकोट दाहा नगरपालिका-६ बस्ने ३० वर्षीय प्रहेक शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सडक निर्माण ठेक्का लिई सडक निर्माणको काम गरिरहेको उक्त निर्माण कम्पनीमा कामदारको रुपमा रहेका प्रहेकले ठेकेदार संगको रिसिबिको कारण मादक पदार्थ सेवन गरी आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साकफाराबाट खटिएको प्रहरीले प्रहेकलाई पक्राउ गरेको हो । आगजनीबाट प्लाष्टिकको ड्रममा राखेको ३ हजार ९ सय लिटर डिजल, २० थान दशफिटे कालो पाईप, २ थान टिफरको टायर र १ थान त्रिपाल जलेर करिब ४ लाख ६५ हजार ४ सय ४० रुपैयाँ बराबरको धनमाल नष्ट भएको बुझिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।