जेठ २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने हुनुभएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित १७ सदस्यीय हुने छ। स्रोतका अनुसार विस्तारित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन्। पुराना चार मन्त्री यथावत रहनेछन्। शेरबाहदुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै महतो उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्नेछन्। यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नेछ। चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्री बन्नेछन्।
यस्तै ईश्वर पोखरेल र प्रदिप ज्ञवाली, हृदयेश त्रिपाठी, पद्मा अर्याल, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ लगायत पार्टीकै जिम्मेवारीमा खटाउन परेकाले मन्त्रीमा नदोहोर्याइएको हो।