जेठ २१, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । बालुवाटार स्रोतका अनुसार शुक्रबार साँझ शपथ गराउने गरी जसपा नेतालाई प्रधानमन्त्री केपी ओलीले सरकारमा सहभागी गराउन लागेका हुन् ।
नयाँ मन्त्रीहरुको शपथ साँझ ६ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ । जसपाले वरिष्ठ नेता तथा संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।
नेता कर्णकाअनुसार महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास, शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिलकुमार झा खानेपानी मन्त्रालय, लक्षणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालय दिने सहमति बनेको छ ।
त्यस्तै, दुई राज्यमन्त्रीमा रेणुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठनागरिक र चन्द्रकान्त चौधरीलाई उर्जा तथा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी दिने तय भएको छ । नेता कर्णकाअनुसार पार्टीको निर्णयअनुसार आफूहरु सरकारमा जाने निर्णय गरेको जानकारी दिनुभयो ।