जेष्ठ २१, एजेन्सी । भारतको उत्तर प्रदेशको इतावाह जिल्लामा पर्ने समासपुरा गाउँमा एउटा निकै दुःखद घटना भएको छ । गाउँमा आयोजित बिहे समारोहका क्रममा बेहुलीको एक्कासी मृत्यु भएपछि मृतक बेहुलीको शव एउटा कोठामा राखियो अनि बेहुलीको बहिनीलाई नयाँ बेहुली बनाएर मण्डपमा ल्याई बेहुलासँग बिहे गराइयो ।
इटवाह जिल्लाको नवली गाउँका बेहुलाको नाम मंगेश कुमार हो । समासपुर गाउँकी सुरभी नामकी युवतीसँग बिहीबार उनको बिहे हुन लागेको थियो । बिहेको कार्यक्रम चलिरहेको थियो । बेहुला बेहुलीले एक अर्कालाई वरमाला लगाए । बेहुलीको सिउँदो पनि भरियो ।सात परिक्रमाको लागि बेहुला र बेहुली पक्षमा तयारी भइरहेका बेला अचानक बेहुली बेहोस् भएर ढलिन् र एकैछिनमा उनको मृत्यु भयो । डाक्टरले बेहुलीको मृत्यु हृदयाघातका कारण भएको बताएका थिए । घटनाले खुसीको माहोलमा एकाएक हाहाकार मच्चियो ।
त्यसपछि दुवै पक्षले सल्लाह गरेर बेहुलीकी बहिनी निशाको उनै बेहुलासँग बिहे गराउने तय गरे । बहिनीको बिहे भइरहँदा दिदीको शव घरकै एक कोठामा राखियो । बहिनी निशालाई बेहुलाको घर विदा गरेपछि दिदी सुरभिको अन्तिम संस्कार गरियो ।