चैत २२, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याराको नजिक पुगेको नेपाल प्रहरीको दावी छ । घटनाको लगभग २ वर्ष ८ महिनापछि कन्चनपुर प्रहरी अहिले घटनामा संलग्न दोषी नजिक पुगेको दावी गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार अहिले घटनाको सूक्ष्म अध्ययन भइरहेको छ । कन्चनपुर प्रहरी अहिले सघन, सूक्ष्म, अध्ययन अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “प्रहरी, हत्याराको एकदम नजिक पुगिसकेकाले अबको केही दिनमै सार्वजनिक गर्नेछौँ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २०७५ साल कार्तिक १५ गते प्रहरी प्रधान कार्यालयमा फाइबर जाँच गर्न सर्टको टुक्राको पठाएको थियो । तर त्यसको अहिलेसम्म जाँच गरिएको छैन । त्यसकारण घटनाको अनुसन्धानमा फेला परेको भनिएको महत्वपूर्ण ‘क्लु’ को वैधानिकता पुष्टि भएको छैन ।
२०७५ साल साउन ११ गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।घटनाबारे विस्तृतमा अनुसन्धान गर्न काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भदौ २ गते दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो । ब्युरोबाट गएका प्रहरी वरिष्ठ उपरीक्षक ९डीएसपी० अंगुर जीसीसँगको बयानका क्रममा दिलीपले घटनाको दिन आफूले लगाएको सर्ट र आकाशे नीलो रङको अन्डरवेयरबारे बयान दिएका थिए । कार्तिक १६ गते अपराध अनुसन्धान विभागले उक्त नमुनाका जाँचको प्रक्रिया अगाडि बढाउन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा पठाएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।