फागुन २०, स्याङजा। स्याङजा आँधीखोला गाउँपालिका-२ बसेबारी बस्ने ४१ वर्षीय दिपक बिकलाई अवैध भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ३ सय थान बेरिङ, बारुद बनाउन प्रयोग हुने ६ सय ९० ग्राम सोडा, ६० ग्राम बारुद र १ सय ९५ थान सिसाको टुक्राहरु सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकको घरमा अवैध भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले बिकको घर तलासी गर्दा लुकाईछिपाई राखेको उक्त हातहतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै झापा कनकाई नगरपालिका-२ स्थित जामुनकाडी सिमसार सामुदायिक बनबाट वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान बुधबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त बनमा भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।