• २०८१ फाल्गुन ७ गते बुधवार

पार्टीमा रहेका नेताले मन फराकिलो, कमिटी बलियो बनाउन जरुरी : मुख्यमन्त्री शाक्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

अशोज १७, ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट आन्दोलनलाई सवल र सुदृढ बनाउन विधान महाधिवेशनले सहयोग गर्ने बताएकी छन् ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि शुरु भएको नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा उनले गणतन्त्र प्राप्त गर्न आफूहरुले धेरै रगत बगाएको स्मरण गर्दै सबै मिलेर अघि बढ्दा मुलुकको हित हुने भनाइ राखिन् । पार्टीमा रहेका नेताले मन फराकिलो बनाएर कमिटी बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

सिरहा जिल्ला अर्नामा गाउँपालिका–१ बाट महाधिवेशनमा उपस्थित इजराइल अन्सारीले स्थानीय तहका नेता तथा कार्यकर्ताको दुःख माथिल्लो तहका नेताले नबुझी अघि बढेमा दुर्घटना भोग्नुपर्ने बताए । कास्कीका कृष्णकुमारी गुरुङले पार्टी भित्र एकता कायम गरी अघि बढ्दा उपलब्धि हासिल हुने मत व्यक्त गरिन् ।

भरतपुर महानगरपालिका–९ का केन्द्रीय प्रतिनिधि परिषद् सदस्य विष्णुहरि तिमिल्सिनाले यस महाधिवेशनले पार्टी सङ्गठनलाई बलियो बताए । गण्डकी प्रदेशसभा सदस्य सावित्री रानाले पार्टीभित्रका कमीकमजोरीलाई सच्याएमा पुनः एक नम्बरको पार्टी बन्ने भनाइ राखे । महाधिवेशन स्थलमा रक्तचाप, महुमेह, कोभिड एन्टिजेन र दन्त परीक्षणको सेवा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस