• २०८१ कार्तिक १९ गते सोमवार

सशस्त्रका अधिकांश एसएसपी बढुवाको रिङबाहिर

तीन डीआईजी रिक्त भए पनि दुई जना मात्र योग्य
पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

असार १८, काठमाडौं । सशस्त्र प्रहरी बलमा हाल तीन जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त भए पनि दुई जनाको मात्र बढुवा हुने भएको छ । डीआईजीका लागि आवश्यक तालिम दुई जनाबाहेक कोही पनि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले नगरेकाले यो स्थिति आएको हो ।

सशस्त्र प्रहरीमा डीआईजी हुन सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज वा ब्रिगेडियर तालिम वा नेसनल डिफेन्स कोर्स गरेकै हुनुपर्छ । २१ दिने यो तालिम एसएसपी कालीदास धौबजी र कुमार न्यौपानेले मात्रै गरेका छन् ।

नेपाल प्रहरीमा २६ वर्षअघि प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका उनीहरूलाई नै डीआईजी बनाउनुको विकल्प बढुवा समितिसँग पनि छैन । उनीहरू डीआईजीमा बढुवा हुँदा नेपालको सुरक्षा संगठनको इतिहासमै प्राविधिक सई यति माथिल्लो निकायमा पुगेको पहिलो घटनासमेत बन्नेछ ।

सशस्त्र मुख्यालयले बुधबार डीआईजीको बढुवा प्रक्रिया अगाडि बढाएको थियो । मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन दिइएको तीनदिने समयसीमा आज शुक्रबार सकिने भएकाले सम्भवतः आजै उनीहरूलाई डीआईजी सिफारिस गरिनेछ ।

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ ।

सशस्त्र प्रहरीमा गत मंसिरमै सात जना डीआईजी रिक्त भए पनि त्यसबेला ६ जनालाई मात्रै बढुवा गरिएको थियो । त्यसपछि माघमा प्रजाभक्त श्रेष्ठ र साता दिनअघि अर्का डीआईजी प्रवीणकुमार श्रेष्ठले अवकाश पाएपछि तीन डीआईजी पद रिक्त भएको हो । मंसिरदेखि नै कसैले पनि डीआईजीका लागि अनिवार्य मानिएको तालिम नगरेकाले एक पद रिक्त नै रहने अवस्था आएको हो ।

हालको एसएसपीको वरिष्ठताका क्रममा न्यौपानेपछि विदुर खड्का रहे पनि उनले सो तालिम नगरेकाले उनी बढुवामा रिङभन्दा बाहिर छन् । त्यस्तै, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि रिङभन्दा बाहिर छन् । यी सबै जना नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरेका थिए ।

डीआईजी बढुवालगत्तै सशस्त्र मुख्यालयले नायब उपरीक्षक (डीएसपी)सम्मको बढुवा अघि बढाउनेछ । सशस्त्रमा हाल डीएसपीदेखि नायब महानिरीक्षक (डीआईजी)सम्म १ सय ६ पद रिक्त छ ।

सशस्त्रमा हाल डीआईजी तीन, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ पद रिक्त छ । अहिले दुई जना डीआईजीमा बढुवा हुँदा १० एसएसपी पद रिक्त हुनेछ ।

डीआईजी बढुवापछि रिक्त हुने १० वटा पदमा भने कायम मुकायम (कामु) का रूपमा बढुवा गरिनेछ । यसअघि सिसं १ का नौ जनालाई दुईपटक गरी कामुका रूपमा बढुवा गरिसकिएको छ ।

अब नेपाल प्रहरीमा २२ पुस २०५५ मा प्राविधिक रूपमा सईमा प्रवेश गरेका प्रवीण कँडेल र सिसं २ का नौ जना बढुवामा पर्नेछन् । एसपी भएको चार वर्ष नकटेकाले उनीहरूलाई क्रमागत रूपमा कामुको जिम्मेवारी दिन लागिएको हो ।

जसअनुसार, प्रवीण कँडेल, विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिउसिना, नीरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत र माधवप्रसाद पौडेल कामुु एसएसपी बन्नेछन् । तर, सिसं २ का कसैलाई पनि अहिले कामुमा बढुवा गर्न नहुने मत पनि बलियो बन्दै गएको छ । सिसं २ का ३७ जना पहिलो चरणमा एसपीमा बढुवा भएका थिए । कामु एसएसपी बन्न नसक्नेहरू यो लबिङमा लागेको स्रोतको दाबी छ ।

उनीहरूलाई कामु एसएसपी नदिँदा भने डीएसपीबाट एसपी बढुवा प्रक्रिया केही प्रभावित हुने हुुनाले बढुवा थाल्नुुपर्ने अर्काथरीको लबिङ छ । अहिले नेपाल प्रहरीबाट स्थानान्तरण भएर आएका डीएसपीहरु एसपीमा बढुुवा हुनेछन् । सिसं ३ मा भर्ना भएका डीएसपीहरु पनि बढुवाको लाइनमा छन् । प्रहरीबाट आएका पुराना र सिसं ३ का लाई मिलाएर बढुुवा गर्नुपर्ने विषयमा पनि लबिङ भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस