चैत २०, झापा । भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ९ ग्राम १ सय १० मिलिग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय गोविन्द राजवंशी, अर्जुनधारा नगरपालिका-६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका-१० बस्ने ३६ वर्षीय विनोद राजवंशी रहेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले लोकेन र विनोदको साथबाट लागूऔषध नाप तौल गर्न प्रयोग हुने डिजिटल तराजु बरामद भएपश्चात थप अनुसन्धान गर्ने क्रममा गोविन्दको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । रौतहट, गौर नगरपालिका-४ टिकुलिया टोलस्थित गहुँबारीमा वेवारिसे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा करिब १२ किलो बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । वेवारिसे अवस्थामा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।