चैत २०, काठमाडौं । मेलम्ची आयोजनाको खानेपानी आज बिहान ऐतिहासिक बालाजु बाइसधारामा खसालीएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारास्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसालेका हुन् । योसँगै बालाजु(सोह्रखुट्टे( नयाँबजार लगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण शुरु भएको छ । बिहान पाँच बजे मेलम्चीको पानि बाइसधारामा खसालीएको हो ।
शुभारम्भ कार्यक्रममा मन्त्री मानन्धरले सरकारले ऐतिहासिक काम गरेको बताउँदै जनताको समृद्धिको सपना वर्तमान सरकारले पुरा गरेरै छाड्ने बताउनुभयो । मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकारले जनपक्षिय कामलाई तिब्रता दिएको बताउनुभयो । खानेपानी मन्त्री मणिचन्द्र थापासहितको टिमलाई विशेष धन्यवाद दिंदै मन्त्री मानन्धरले अब राजधानी उपत्यकालाई सफा र सुन्दर बनाउने बताउनुभयो ।
मेलम्चीको पानी राजधानीमा आएसँगै अव राजधानीमा खानेपानीको कुनै समस्या नहुने बताउँदै मन्त्री मानन्धरले जनताका पक्षमा गरिएका काम सधैं स्मरणिय हुने बताउनुभयो । कार्यक्रममा बालाजुका स्थानीयले खुशीयाली मनाएका थिए । नेपाल सरकारले मेलम्चीको पानी घर घरमा खसालेपछि आफुहरु अत्यन्तै हर्षित भएको बताउँदै बालाजुका स्थानीयले मन्त्री मानन्धरसँगै खुशी साटासाट गरे ।
पानी धारामा पठाएसँगै सोह्रखुट्टे लगायतका स्थानमा मन्त्री मानन्धरसहितको टोलीले स्थलगत अनुगमन समेत गरेको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ ।