कात्तिक १५, कास्की । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा आज पोखरामा आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले मानवीय सेवामा रेडक्रसले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “परोपकारी संस्थाका रुपमा परिभाषित रेडक्रस जहाँ दुख छ, त्यहाँ पुग्ने गरेको छ । भूकम्पका बेला होस् या अन्य प्राकृतिक विपत्का समयमा रेडक्रस सधैं अग्रस्थानमा रहने गरेको छ ।” कोभिडका समयमा सबै क्षेत्र ठप्प हुँदा एम्बुलेन्स सेवा र रगत अभावलाई परिपूर्ति गर्न रेडक्रसले पु¥याएको योगदान प्रशंसनीय रहेको बताउँदै उहाँले ‘हरेक क्षेत्र ठप्प हुँदा पनि रेडक्रस समाज सेवामा समर्पित रहेको बताउनुभयो ।
प्रदेश सरकारले रेडक्रसलाई निरन्तर रुपमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री थापाले रेडक्रसको पोखरा–८ सिर्जनाचोकमा निर्माणाधीन अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंकका लागि भवन निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा रेडक्रस सोसाइटी गण्डकीका सभापति सूर्य ढकालले विपत्का समयमा काम गर्ने संस्था रेडक्रस सरकारको साझेदार भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा रेडक्रसले काम गरिरहेको जानकारी दिनुभयो ।