• २०८१ मङ्सिर २४ गते सोमवार

भाइटीकामा रानीपोखरी १२ घण्टा खुल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १५, काठमाडौं । भाइटीकाका लागि यस वर्ष रानीपोखरी बिहान ६ देखि साँझ ६ बजेसम्म खुला गरिने भएको छ । भूकम्पका कारण क्षति भएको उक्त ऐतिहासिक सम्पदाको गत वर्ष कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः निर्माण सम्पन्न रानीपोखरीको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपश्चात् गत वर्ष पनि उक्त सम्पदामा सर्वसाधारणका लागि टीका लगाउन खुला गरिएको थियो । अन्य समयमा बन्द रहने उक्त पोखरी नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा भाइटीकाका दिन खुला गर्ने गरिन्छ ।
उक्त स्थानमा दाजुभाइ नभएको दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइहरुले सामूहिक रुपमा भाइटीका लगाउने गर्दछन् । यस वर्ष आगामी २० गते शनिबार भाइटीका परेको छ ।

यस सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनः निर्माण सम्पन्न भएको हो । उक्त दिन सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर दर्शन गर्न पाउनेछन् ।

भूकम्पपछि पुनः निर्माण सम्पन्न नहँदासम्मको पाँच वर्ष हरेक वर्षको तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीको रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनः निर्माणको सुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस