असार १७, काठमाडौं । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार थप २ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ९८५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार १३० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १८ सय ५७ जना र ३ हजार ८५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार १७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख १४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ९८५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ४३ हजार ९२९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ ।