• २०८१ कार्तिक १९ गते सोमवार

सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं : प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुष १७ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायका लागि सुरक्षित राष्ट्रका रूपमा हाम्रो स्थान केही माथि पुगेको उल्लेख गर्दै आयात कटौती र निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको दावी गर्नुभएको छ । आज अंग्रेजी नयाँ वर्ष २०२१ को शुभकामना व्यक्त गर्दै उहाँले आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित हुन थालेको बताउनुभयो ।

सन् २०२० मा हामीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नु परेको उहाँले गर्दै उहाँले यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसारका साधन, स्रोत, प्रविधि र शक्ति सम्पन्न मानिएका देशहरूले समेत यस महामारीका कारण हाम्रो भन्दा कयौं गुणा बढी क्षति बेहोर्नु पर्यो । हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु ।’

भर्खरै बिदा भएको सन् २०२० मा नेपाललाई हामीले निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको बताउँदै उहाँले संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ हामी उन्मूख रहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘बितेको वर्षमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं । पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौं । हामीले यही अवधिमा विकासका केही दूरगामी योजनाहरू थालनी गर्यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसूस गराउने केही आयोजनाहरू सम्पन्न गर्यौं । पाँच वर्ष अघिको विनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरूको पुनःनिर्माणलाई एकाध बाहेक निश्कर्षमा पुर्याउने सफलता प्राप्त गरेका छौं ।’

अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक व्यवधानहरूको सामना गर्नु परेको उल्लेख गर्दै उहाँले यसका बावजूद मुलुक निर्माणको प्रथमिकताबाट विमुख ब्यक्तिहरूका निजी आकाङ्क्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेको बताउनुभयो । आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिक रूपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्दै गएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस