साउन १६,काठमाडौँ। तिब्बतका धार्मिक गुरु दलाई लामले युरोपियन यनियनका नेताहरुले ल्याएको कोरोना भाइरस प्याकेजको स्वागत गरेका छन् । उनले बुधबार युरोपियन युनियनहरुबीच ७५० बिलियन युरोको कोरोना भाइरस प्याकेजमा भएको सहमतिको स्वागत गरेका हुन् । कोरोना महामारीबाट प्रभावित क्षेत्रको उद्धार र राहतका लागि युरोपियन युनियनका नेताहरु उक्त राहत प्याकेजमा सहमति जनाएका हुन् ।
युरोपियन युनियनका नेताहरु एक निकै ठूलो चुनौतीको सामना गर्नका लागि एक ठाउँमा आएर ऐतिहासिक सहमति गरेका छन् । कोरोना भाइरसले तहसनहस बनाएको युरोपियन मुलुकको अर्थतन्त्रलाई उकास्न भएको सहमतिको हार्दिक स्वागत छ, उनले भने । पाँच दिनसम्मको लगातारको छलफलपछि युरोपियन युनियनका नेताहरु उक्त सहमतिमा पुगेका हुन् । उनले थपे, साझा चुनौतीलाई सामना गर्नका लागि सबै सदस्यहरु एक ठाउँमा आएर विश्वलाई नै उदाहरण प्रस्तुत गरेका छन् । भावनात्मक संकट भइरहेको यस समयमा विश्वलाई नै उनीहरुले साहस र परिपक्व ताको उदाहरण प्रस्तुत गरेका छन् ।
युरोपियन काउन्सिलका प्रमुख चार्ल्स माइकलले उक्त सहमतिलाई महत्वपूर्ण पल को संज्ञा दिएका छन् । त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले पनि युरोपको ऐतिहासिक निर्णयको रुपमा व्याख्या गरेका छन् । कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको युरोपमा कोरोना संकटको चुनौतीविरुद्ध लड्न एक ठाउँमा आएका हुन्।