पौष १५, धनुषा। धनुषामा ३ वटा सवारीसाधन एकैपटक ठोक्किदा २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धनुषाधाम गरपालिका वडा ९ धारापानीमा बिआर ६ जिडी ८८५९ नम्बरको भारतीय ट्रक, को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङकर भारतीय ट्रक र ना ४ च ९३१७ नम्बर पिकअप ठोक्किदा दुर्घटना भएको हो ।
पश्चिमतर्फ आउदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकसँग पूर्वतिर जाँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङकर जुधेका थिए । त्यसपछि त्यही समय पूर्वबाट पश्चिम आउदै गरेको ना ४ च ९३१७ नम्बरको पिकअप जुध्न पुगेको थियो । दुर्घटनामा मृत्यु हुनेहरु ट्याङ्करका चालक मोरङ विराटनगर महानगरापलिका–४ बस्ने वर्ष ३६ का अर्जुनकुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीलाकुमार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी दुर्घटनामा परि अन्य ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । घाइते मध्ये एकको जनकपुरमै उपचार भइरहेको र अन्यलाई थप उपचारकालागि विराटनगर लगिएको बताइएको छ ।