धनगढी उप–महानगरपालिकामा फेरी दिसा भेटिएको छ। उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुखको कुर्सीमा दिसा राखेको भेटिएको हप्ता दिन नबित्दै मेकानिकल सब–इन्जिनीयरको कुर्सीमा समेत दिसा भेटिएको हो। ‘म बस्ने कुर्सीमा दिसा थियो,’ मेकानिकल सव इन्जिनीयर सतविर रानाले भने, ‘कार्यालय समयमै आईपुगेको थिए। सरसरफाई गर्छन् गर्न त खोई उहाँहरुले देख्नुभयो की भएन। त्यो बिरालोले गरेको हो की भन्ने अनुमान छ।
कुर्सीमा दिसा भेटिने बित्तिकै रानाले प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा लगायतका कर्मचारीलाई खबर गरेका थिए। लगत्तै उनको कार्यकक्षमा पुगेका शर्माकै निर्देशनमा कार्यालय सहयोगी डबल चौधरीले कुर्सीको दिसा पखालेका थिए। ‘नारायण सरले पखाल्न भनेपछि मैले कु्र्सीमा रहेको दिसा पखालेको हुँ’ चौधरीले भने।यता प्रशासन तथा जनशक्ति विकास शाखा प्रमुख नारायण प्रसाद शर्माले भने उक्त विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। शर्मालाई सो विषयमा भने, ‘त्यो विषयमा मलाई केही थाहा छैन्।’ जबकी उनै शर्माकै निर्देशनमा कार्यालय सहयोगीले दिसा सफा गरेका थिए।