जेठ १७, काठमाडौं । नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पु¥याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ । ६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको छ । सगरमाथाको नयाँ मापनले अब नयाँ उचाइ कति छ भन्ने विषयमा यथार्थ विवरण आउनेछ ।
सन् २००५ मा चिनियाँ नापी सर्भेपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ रहेको र त्यसमा हिउँको उचाइ चार मिटर रहेको निष्कर्ष निकालिएको थियो । चिनियाँ पक्षले निकालेको सर्भे विवादमा आएपछि सन् २०१० मा नेपाल र चीनबीच सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर नै कायम गर्ने गरी सहमति जुटेको थियो ।
चिनियाँ सर्भेमा रहेका ३० जना सगरमाथाको शिखरमा पुगेर फर्केपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने बताएकी छन् । राजदूत यान्छीले ट्वीट गर्दै चिनियाँ सर्भेयरले पनि चुचुरोमै पुगेर सगरमाथाको नाप लिएको बताएकी छन् । उनले ट्वीटरमा फोटो पोस्ट गरेर २६ मे २०२० मा चिनियाँ सर्भेयर टोली सगरमाथाको चुचुरोमा पुगेको बताइन् ।
नेपालका तर्फबाट भने सगरमाथा मापनको अन्तिम काम अझै बाँकी रहेकाले उचाइ तत्काल सार्वजनिक नहुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । चीन र नेपालले सगरमाथाको उचाइ सार्वजनिक गर्ने विषयमा नापी विभागलाई कुनै जानकारी नभएको ढकालको भनाइ छ ।
‘हामी अहिले तथ्यांक प्रशोधन गर्ने काम गरिरहेका छौं,’ अब छिट्टै काम पूरा गरी सगरमाथाको उचाइ सार्वजनिक गर्नेछौं,’ ढकालले भने । सन् २०१८ फेब्रुअरीबाट सुरु गरिएको मापन कार्य दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य लिएको भए पनि मौसमका कारण ढिलाइ हुन पुगेको ढकालले बताए । ‘हाइ अल्टिच्युडका कारण गत साल फिल्डमा काम बाँकी रह्यो,’ सूचना अधिकारी ढकालले भने । मापन भएको उचाइको प्रशोधन गर्ने र पुरानो विधि तथा प्रक्रियामा इन्टरलिंक गरेर मे २०२० सम्ममा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर उचाइ सार्वजनिक गर्ने लक्ष्य राखिएको थिए । तर, प्रक्रियागत कामले ढिलाइ भएको ढकालले जानकारी दिए ।
सगरमाथा उचाइ मापन सचिवालयका अनुसार सन् २०१७ को डिसेम्बरमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेपछि नेपालले पहिलोपटक आफैंले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको हो ।
यसकारण सगरमाथाको मापन
सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । त्यसयता सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आइएको छ । तर, २०७२ सालमा नेपालमा गएको भूकम्पका कारण उचाइ घटेको समाचार अन्तर्राष्ट्रिय समाचार माध्यममा आएसँगै सगरमाथाको उचाइ पुनः मापन गर्न थालिएको हो ।
सन् १९९९ मेमा अमेरिकन टोलीले जीपीएस प्रणालीबाट सगरमाथाको उचाइ नापेर थप दुई मिटर अग्लो रहेको जनाएको थियो । अहिलेको अध्ययनले सगरमाथाको उचाइबारे देखिएको विवादलाई आधिकारिक रूपमा समाधान गर्ने नापी विभागका सूचना अधिकारी ढकालले बताए ।
सबैभन्दा पहिलोपटक ‘द ग्रेट ट्रिगोनोमेट्रिक सर्भे’अन्तर्गत ब्रिटिस उपनिवेशकालीन समयमा भारतीय उपमहाद्वीपको वैज्ञानिक नक्सांकन गर्ने क्रममा सन् १८४७ मा सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ ८ हजार ८ सय ७८ मिटर रहेको घोषणा गरेको थियो ।
सन् १९६६—६८ मा चीनले सगरमाथा मापनको काम अघि बढाएको थियो । पहिलोपटकको चिनियाँ सर्वेक्षणमा सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर देखिएको थियो । चीन एक्लैले चारपटक र अमेरिका तथा इटालीसँग संयुक्त रूपमा गरी जम्मा ६ पटक सगरमाथाको मापन गर्ने प्रयास गरेको दस्तावेजहरूमा उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।