चैत्र १७,काठमाडाैं । जापानको टोकियोमा आइतबार एकैदिन कोरोना भाइरस (कोभिड–१९)का ८६ जना संक्रमितहरु भेटिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टोकियोमा आइतबार एकैदिनमा भेटिएको कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो ।
जापानको स्वास्थ्य मन्त्रालयले राजधानी सहर टोकियोमा आइतबार एकैदिन ६८ जनामा भाइरसको नयाँ संक्रमण देखिएको पुष्टि गरेको छ ।
यससँगै टोकियोमा यो भाइरसबाट संक्रमित हुनेको संख्या चार सय ३० पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबार भेटिएका नयाँ संक्रमितमध्ये २८ संक्रमित टोकियो नजिकै रहेको एक अनाथालयमा भेटिएका थिए ।
कोरोना भाइरसलाई धेरै फैलिन नदिन सफल भएको मुलुकको रुपमा मानिएको जापानमा आइतबार यो भाइरसका एक सय ७३ नयाँ संक्रमित फेला परेका थिए ।
यससँगै जापानमा यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या एक हजार आठ सय ६६ पुगेको छ । साथै, जापानमा मृत्यु हुनेको कूल संख्या पनि ५४ पुगेको छ । यसमा टोकियो नजिकै गत महिना पानीजहाजमा देखिएको सात सय १७ संक्रमित भने समावेश गरिएको छैन ।