• २०७९ असोज ९ गते आइतवार

बैतडीमा नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, बैतडी। बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो ।

शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । सङ्क्रमित मध्ये ५५ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना रहेका छन् । डिलाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा चार, पाटन नगरपालिकामा तीन र सुर्नया तथा पञ्चेश्वर गाउँपालिकामा एक-एक जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको जोखिम बढेको भन्दै दशरथचन्द नगरपालिका क्षेत्रलाई आजदेखि लकडाउन गरिएको छ । नगरकार्यपालिकाको बैठकले मङ्सिर २२ गतेसम्म लकडाउन घोषणा गरेको हो । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका कोरोनाको ‘हटस्पट’ बन्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

नगरपालिकामा ३६ जना सक्रिय सङ्क्रमित रहेका र एकैदिन १८ जनामा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको छ । चिसोको समयमा कोरोनाको सङ्क्रमण झन् फैलिने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस