कार्तिक १३ , काठमाडौँ । विश्वमा बुधबार एकै दिनमा हालसम्मकै सर्वाधिक ५ लाखभन्दा बढी संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सका अनुसार बुधबार विश्वभर ५ लाख २ हजार ९८५ जनामा संक्रमण पुष्टि भएका छ ।
यो हालसम्म एकै दिन पुष्टि हुने सर्वाधिक संक्रमित संख्या हो । यसअघि अक्टोबर २३ का दिन पनि उच्च संख्यामा ४ लाख ९२ हजार ६८३ जनामा संक्रमण पुष्टि भएको थियो । साथै विश्वभर पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनाको संक्रमणकै कारण मृत्यु भएको छ । पछिल्लो समय संयुक्त राज्यमा अमेरिकामा संक्रमण र मृत्युदर झन बढ्दै गएको छ भने भने भारतमा घटिरहेको छ । अमेरिकामा बुधबार ८० हजार नयाँ संक्रमित थपिएका छन् भने १ हजार ३० संक्रमितले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ कुल संक्रमित संख्या ९१ लाख १९ हजार नाघेको छ, मृतक संख्या पनि २ लाख ३३ हजार नाघेको छ । उता भारतमा भने तुलनात्मक रुपमा संक्रमण कम देखिएको छ ।
त्यहाँ बुधबार ४९ हजार ९१२ जनामा संक्रमण पुष्टि भएको छ भने ५०९ जनाको ज्यान गएको छ । यससँगै भारतमा कुल संक्रमित संख्या ८० लाख ३८ हजार नाघेको छ भने कुल मृतक संख्या १ लाख २० हजार नाघेको छ । पछिल्लो समय युरोपेली मुलुक फ्रान्समा संक्रमण तीव्र गतिमा बढ्दै छ । त्यहाँ बुधबार एकै दिन ३६ हजार ४३७ जनामा संक्रमण पुष्टि भएको छ भने २४४ जनाले ज्यान गुमाएका छन् । उता ब्राजिलमा पनि बुधबार २८ हजार ८५२ जना संक्रमित थपिएका छन् भने ४८७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय चिसो मौसम लागेसँगै युरोपेली देशहरु इटाली, बेलायत, स्पेन, पोल्यान्ड आदिमा दैनिक संक्रमणका केसहरु पनि उकालो लाग्दै गएका छन् ।