• २०८१ माघ १ गते मङ्गलवार

रानीपोखरीको पुनःनिर्माण ९० प्रतिशत सम्पन्‍न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, काठमाडौँ । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन । निर्माणअन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुर र सौन्दर्य अभिवृद्धिको काम भइरहेको छ । अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

गत जेठको पहिलो सातादेखि नै निर्माणको काम शुरु गरिए पनि कामदार अभावका कारण गति लिन सकेको थिएन, अहिले पनि थोरैको सङ्ख्यामा मात्र कामदारले काम गरिरहेका छन् । हाल काम गरिरहेका कामदारले नै निरन्तर काम गर्न पाए आगामी असोजसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ । बन्दाबन्दीअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । हाल ३२ कामदारले मात्रै काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस