फागुन १७, मुगु । छायाँनाथ रारा नगरपालिका-१ र २ मा ढल व्यवस्थित नहुँदा गमगढी बजार दुर्ग्न्धित बनेको छ । फोहोर पानी सोझै सडक र खुला क्षेत्रमा बग्दा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । भिरालो सडकमा बग्ने फोहोर पानी सोझै स्थानीयको घरभित्र पस्ने गरेको छ । ढल निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीले सदरमुकाम दिन प्रतिदिन दुर्ग्न्धित बन्दै गएको हो ।
जिल्ला प्रशासन कार्यालयदेखि चैना खोला र अदालत चोकदेखि अगाडिको ढल निकास दुई वर्षदेखि अलपत्रमा छ । दुई हजार एकसय मिटर ढल निर्माणका लागि भवन डिभिजन कार्यालय जुम्लासँग डाँफे द क्याराभान जेबि कम्पनी काठमाडौले २०७५ साल पुसमा सम्झौता गरेको थियो । सो कम्पनीले दुईकरोड १३ लाख ७० हजारमा ढल निकासको ठेक्का पाएको थियो। तर अहिलेसम्म काम सुरू भएको छैन ।
ढल निकास व्यवस्थित नहुँदा पुरै बजार दुर्ग्न्धित बनेको व्यवसायी बिष्णुबहादुर मल्ल बताउँछन्। ‘गमगढी बजारबाट मिलन चोक र अदालत चोकसम्म आउजाउ गर्न निकै सकस भइरहेको छ उहाले भन्नु भयो सम्झौता भएकै समयमा ठेकेदार पक्षले १० प्रतिशत पेश्की समेत लिएको भवन डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चन्द्र खड्काले बताए ।
गमगढी बजारको ढल निकासका लागि आर्थिक वर्ष ०७५ र ०७६ मा एक करोड ५० लाख रकम विनियोजन भएको थियो । भवन डिभिजन कार्यालयले ढल निर्माणमा चासो नदेखाएपछि सो बजेट नगरपालिका आफ्नै मनपरी ढंगलले अर्कै योजनामा खर्च गरेको छ । ढल व्यवस्थित नहुनु नगरपालिकाको कमजोरी रहेको स्थानीयले बताएका छन् ।