फागुन १७, दैलेख । दैलेखमा दादुरा– रुबेला बिरुद्ध खोप कार्यक्रम संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य सेवा कार्यालय दैलेखद्धारा दादुरा–रुबेला खोप अभियान २०७६ अन्तरगत आयोजित जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो ।
सरकारले दादुरा–रुबेला रोग निवारण गर्ने उद्देश्यले खोप कार्यक्रम देशैभर सञ्चालन गर्दैछ । सोही अन्तरगत दैलेखमा दोस्रो चरणको खोप कार्यक्रम आगामी चैत्रमा सञ्चालन हुने भएको छ । नौ महिनादेखि ५९ महिनासम्मका ९पाँच वर्ष० मुनिका सबै बालबालिकालाई लगाइने खोप कार्यक्रम दैलेखमा दुई चरणमा गरि खोप लगाउने स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
यस्तै आगामी चैत्र ७ गते देखि पहिलो चरणमा जिल्लाको दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटीकाँध गाउँपालिका र आठबीस नगरपालिकामा खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताउनु भयो। उहाँका अनुसार दोस्रो चरणमा चैत्र १५ गते देखि जिल्लाको नारायण नगरपालिका, भैरबी गाउँपालिका, महाबु गाउँपालिका, नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका र गुराँस गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुनेछ ।
यस पटक ३२ हजार ७ सय २० जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको खोप अधिकृत रेग्मीले बताउनु भयो । उहाँका अनुसार दैलेखमा ५ सय ४० वटा खोप केन्द्र मार्फत बालबालिकालाई दादुरा–रुबेला खोप दिइनेछ । सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले रोगमुक्त जिल्ला बनाउनुपर्नेमा जोड दिएका छन् ।