असोज १२ , बैतडी। कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौंडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐरबमको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए । चन्दका अनुसार “सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय गरिएको छ, आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाएका छौँ ।” भारतको बैङ्लोरबाट फर्किएका पुर्चौडी–३ का २९ वर्षीय पुरुष घर पुग्नै लाग्दा शुक्रबार स्थानीय लामाधारमा मृत फेला परेका थिए । मृत भेटिएका ती पुरुषको शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरी परीक्षण गर्ने निर्णय पनि भएको छ ।
पुर्चौडीमा अहिलेसम्म २० जनामा सङ्क्रमण पुष्टि हुँदा आठ जना अझै सक्रिय सङ्क्रमित छन् । मृत भेटिएका व्यक्तिमा कोरोना पुष्टि हुँदा गाउँमा त्रास फैलिएको स्थानीय अनिरुद्र जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट फर्किएर गाउँमै पुगेर कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपछि त्रास बढेको छ ।” पुर्चौडीका विद्यालयहरु पुनः बन्द भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए । असोज ७ देखि सञ्चालनमा आएका विद्यालय आजदेखि पुनः बन्द भएका नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए । नागरीका अनुसार “नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसँगै विद्यालय पनि बन्द भएका छन्, आइतबार विद्यालय सञ्चालनमा आएका भए पनि पछि नगरपालिकाले सूचना निकालेपछि बीचमै बन्द गरेका छौँ ।”
पुर्चौडी–३ का २९ वर्षीय युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु हुनुका साथै अन्य आठ नयाँ सङ्क्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको हो । विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको शिक्षा शाखा प्रमुख नागरीको भनाइ छ । शिक्षण सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको उहाँले बताउनुभयो ।