• २०८१ साउन ३ गते बिहिवार

कोरोनाबाट मृत्यु भएपछि मध्यपुरथिमिको नागरिक अस्पताल बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १२, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको कोभिड–१९ सङ्क्रमणबाट गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उहाँले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिनुभयो । आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक श्रेष्ठले भन्नुभयो, “बिरामी अस्पताल आइपुगेर उपचार शुरु गर्दा नै मृत्यु भइसकेको थियो । हाम्रा डाक्टरले परिवारसँग बुझ्दा पाँचदिनदेखि ज्वरो आएको, वान्ता भएको, उच्च रक्तचापको औषधि सेवन गरिरहेको, घर मै बेहोस भएपछि अस्पताल ल्याएको जानकारी गराएपछि राति नै पीसीआर परीक्षणका लागि स्वाब पठाउँदा कोरोना सङ्क्रमण पुष्टि भयो ।” कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी आज र शनिबार दुई दिनका लागि बन्द गरिएको उहाँले जानकारी दिनुभयो । बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुर स्थानीय दुईजनाको मृत्यु भएको थियो । अहिलेसम्म भक्तपुरमा स्थानीयको तीनको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अहिलेसम्म भक्तपृुरमा ३७५ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ भने मध्यपुरथिमि नगरपालिकमा समुदायस्तर मै भाइरस फैलिएको पाइएको छ ।भक्तपुरमा समुदायस्तर मै कोरोना सङ्क्रमण फैलिदै गएको र मृतकको सङ्ख्यासमेत बढ्दै गएको भन्दै प्रत्येक नगरपालिकाले प्रत्येक घरको कम्तीमा एकजनाको पीसीआर गर्नुपर्ने स्थानीयले माग गरेका छन् । मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले भने सङ्क्रमण रोक्न पीसीआर परीक्षण बढाउने र अन्य उपायहरु अबलम्बन गर्ने गरी तयारी गरेको जनाएको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिका भित्र सङ्क्रमण फैलिदै गएपछि नगरपालिका क्षेत्रभित्र तीन दिनभित्र २००० जनाको पीसीआर परीक्षण गरिने जानकारी दिनुभयो । उहाँले पीसीआर परीक्षणको दायरा बढाउँदै लैजाने, निषेधाज्ञा पूर्ण रुपमा लागू गराउने, क्वारेन्टिन, आइसोलेशनको शै्यया विस्तार गर्ने कार्यमा लागिरहेको जानकारी दिनुभयो । यता सूर्यविनायक नगरपालिकाले पनि पीसीआर परीक्षणको दायरा फराकिलो बनाउँदै प्रत्येक वडामा स्वाब सङ्कलनको अभियान नै सञ्चालन गरेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । सङ्क्रमण नियन्त्रणका लागि योजना बनाएर अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस