• २०८१ साउन १ गते मङ्गलवार

राष्ट्रपतिद्वारा तेह्रौँ गणतन्त्र दिवसको शुभकामना व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उहाँले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वानसमेत गर्नुभएको छ ।

राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा “आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु”, उल्लेख छ । उहाँले कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सवै नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले सङ्क्रमित विरामीहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले ऐतिहासिक दिवसले सबै नेपालीहरुलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस