असोज ११, काठमाडौँ । सरकारले पीसीआर परीक्षण शुल्क दुईपटक घटाएर २ हजार रुपैयाँ कायम गरे पनि निजी अस्पताल र प्रयोगशालाले दोब्बर असुलिरहेका छन् । काठमाडौं उपत्यकाका ११ प्रयोगशालाको अनुगमन गर्दा ८ वटाले ३ हजार ९ सय रुपैयाँ लिइरहेको पाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले दुई दिन लगाएर हालै अनुगमन गरेको थियो। अनुगमनमा संलग्न एक स्वास्थ्यकर्मीका अनुसार सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरी एन्ड रिसर्च सेन्टर, इन्टरपिड डायग्नोस्टिक सेन्टर, डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टर, सूर्या हेल्थ केयर सेन्टर, बी एन्ड बी अस्पताल, ह्याम्स अस्पताल, नेपाल मेडिसिटी र स्टार अस्पतालमा रहेका प्रयोगशालाले तोकेभन्दा बढी शुल्क लिइरहेका छन् । यस्ता प्रयोगशालाले बढी शुल्क असुलेको उजुरी मन्त्रालयमा परेको थियो। ‘सरकारी मापदण्ड लत्याएको पाइयो। अधिकतम २ हजार शुल्क लिनुपर्नेमा ३ हजार ९ सय रुपैयाँ असुलेको पाइयो’, अनुगमनमा संलग्न एक कर्मचारीले भने। अनुगमनका क्रममा बिद ल्याबोरेटरी, काठमाडौं मेडिकल कलेज र नेपाल–कोरिया जनमैत्री अस्पतालले भने तोकिएकै शुल्क लिइरहेको पाइएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पीसीआरमा प्रयोग हुने रिएजेन्ट, किट, स्वाब संकलन गर्ने भीटीएमदेखि पीपीईलगायत सामग्रीको मूल्य घटेपछि भदौ २८ गते शुल्क घटाइएको हो। तर, निजी प्रयोगशाला सञ्चालकले असोज ५ गतेदेखि ३ हजार ९ सय शुल्क लिइरहेको पाइएको अनुगमनमा संलग्न स्वास्थ्यकर्मीले बताए। याे समाचार आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।