भदौ ११, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताए ।उनका अनुसार मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना जाँचका लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।
उच्च ज्वरोको समस्या लिएर आउने व्यक्तिहरुमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिससंग मिल्दोजुल्दो लक्षणहरु रहेकाले सो रोगको सङ्क्रमण हुन सक्ने उनले बताए । दोधारा स्वास्थ्य केन्द्रका अनुसार १० दिन अघिदेखि उच्च ज्वरोको समस्या देखिएको छ । उनले ज्वरो आउने वित्तिक्कै प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न स्थानियलाई आग्रह गरे ।