असार १३, बुटवल । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भन्नुभयो, ‘सलह किराले पुर्याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं । सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने छन् ।’
मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ । सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।
नियन्त्रणका उपाय
रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुलरजालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ । ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताउनुभयो ।
तर, एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने जानकारहरू बताउँछन् । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।