फागुन १५, दैलेख । नेपाल स्वास्थ्य बीमा बोर्डले कर्णाली प्रदेशको दैलेखमा पनि ‘स्वास्थ्य बीमा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्लामा यही फागुन १८ देखि उक्त कार्यक्रम शुरू गरिने नेपाल बोर्डले बताएको छ । यसअघि प्रदेशका ८ जिल्लामा यो कार्यक्रम सञ्चालन भइसकेको छ भने अब सल्यानमा मात्र शुरू हुन बाँकी छ ।
पहिलो चरणमा जिल्लाको भगवतीमाई गाउँपालिकाबाट कार्यक्रमको शुरुआत हुनेछ । बीमा कार्यक्रम सम्बन्धित वडातहमै सञ्चालन गरिने नेपाल स्वास्थ्य बीमा बोर्ड, कर्णाली प्रदेश संयोजक अर्जुन पण्डितले जानकारी दिए । चालू आर्थिक वर्षको असारसम्ममा जिल्लाका ९० ओटै वडातहमा कार्यक्रम लागू गरिसक्ने उद्देश्य रहेको उनले बताए । ‘यस कार्यक्रम अन्तर्गत सबैभन्दा पहिला वडातहमा दर्ता सहयोगीलाई ३ दिनको तालीमको व्यवस्था गरिनेछ,’ उनले भने, ‘वडाका नागरिकले स्वास्थ्य बीमा गर्दा तालीम प्राप्त व्यक्तिकहाँ दर्ता गर्नुपर्नेछ ।’ गरीबी दर धेरै रहेको र स्वास्थ्य, आर्थिक लगायत सूचकमा पछि परेको प्रदेशमा यस कार्यक्रमको महŒव र उपयोगिता धेरै हुने उनको भनाइ छ । दैलेखपछि सल्यानमा पनि यो कार्यक्रम विस्तार गर्ने बोर्डको योजना छ ।
पण्डितका अनुसार बीमा कार्यक्रममा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार रू। ३ हजार ५०० तिर्नुपर्दछ । त्यस्तै ५ जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य थप रू। ७०० का दरले रकम तिर्नु पर्दछ । बोर्डका अनुसार ५ जनासम्मको परिवारले दैनिक १० रुपैयाँ जम्मा गर्दा १ वर्षका लागि तिर्नुपर्ने रकम जम्मा हुन्छ । बीमा कार्यक्रममा सहभागी बिरामी हुँदा वार्षिक रू। १ लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् । त्यस्तै, ५ जनाभन्दा बढी सदस्य भएकाले प्रतिसदस्य थप रू। २० हजार बराबरले अधिकतम रू। २ लाखसम्मको स्वास्थ्य सुविधा पाउनेछन् । ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको निःशुल्क बीमा हुने र रू। १० हजारसम्म उपचार सेवाको व्यवस्था गरिएको छ ।
आर्थिक वर्ष २०६८ को जनगणना अनुसार दैलेखको जनसंख्या २ लाख ६१ हजार ७७० छ । अहिले यो बढेर अनुमानित ३ लाख पुगेको जिल्ला समन्वयन समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले बताए । ‘जिल्लाका ११ ओटै स्थानीय तहमा आवश्यक डकुमेन्ट उपलब्ध भइसकेको छ,’ उनले भने, ‘यहाँका अधिकांशलाई बीमामा आबद्ध गराउने योजना छ ।’
हालसम्म कर्णालीका २ लाख ६ हजार २१६ जना यस कार्यक्रममा आबद्ध भएका छन् भने ८ करोड ९० लाख ३ हजार १०३ रुपैयाँ जम्मा भएको बोर्डले जानकारी दिएको छ ।